×

चितवन ।कोभिड–१९ का कारण व्यवसायमा नकारात्मक असर परेको भन्दै होटल व्यवसायी महासंघ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएको छ । व्यवसायीहरुले बुधबार मन्त्री ढकाललाई भेटेरै व्यवसायीको समस्या समाधान गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले बताउनुभयो ।

मन्त्री ढकाललाई भेटेर व्यवसायीहरुलाई घरबहालमा सहुलियत दिनुपर्ने, कोभिडका कारण अस्तव्यस्त बनेको होटल व्यवसायलाई चलामान बनाउन सरकारको मौद्रिक नीतिअनुसार राहत दिनुपर्ने, बैंकले सहज रुपले कर्जा प्रवाह गर्नुपर्ने, सङ्क्रमणकालभरी व्यवसाय गरेवापत तिर्नुपर्ने सम्पूर्ण राजस्व मिहाना गरिदिनुपर्ने तथा तालीमहरु सञ्चालन गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको चुकेले बताउनुभयो । व्यवसायीहरुले राखेको मागप्रति मन्त्री ढकालले सकारात्मक प्रतिकृया दिनुभएको समेत चुकेको भनाइ छ ।

त्यस्तै, बुधबार नै व्यवसायीको टोलीले गृहमन्त्री रामबहादुर थापा बादल तथा गृहसचिव महेश्वर न्यौपानेलाई समेत भेट गरेको छ । होटल व्यवसायीसँगको छलफलका क्रममा गृहमन्त्री थापाले रातिको ११ बजेसम्म होटल सञ्चालन गर्न दिने आश्वासन दिनुभएको चुकेले बताउनुभयो । त्यस्तै कोभिड प्रकोपका कारण बन्द गरिएका नाकाहरु समेत खोल्नका लागि गृहमन्त्री सकारात्मक हुनुभएको चुकेले जानकारी दिनुभयो । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके, उप महासचिव शेरबहादुर थापा, कोषाध्यक्ष तिलक कार्कीसहितको टोलीले गृहमन्त्री तथा मन्त्रीलाई भेटेको थियो ।

तपाईको प्रतिक्रिया