चितवन । पुष्पकमल दाहाल प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको बताए ।‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो,’ पोखरेलले भने, ‘तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’
नेता पोखरेलले भने, ‘कतिपय नेताले ओलीसँग मिलेर चुनाव लडे जितिन्छ भन्न थालेका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई कारबाही गर्नु भएको छैन ।’ भरतपुरको कार्यक्रममा आएर प्रचण्ड अध्यक्षको नाताले आशन ग्रहण गर्न सक्ने नेता पोखरेलले बताए ।
नेता पोखरेलले भने, ‘अध्यक्ष ओलीमाथि लगाएका अभियोग फिर्ता लिएर आए चितवनमा स्वागत छ । नत्र निर्वाचनमा अन्यत्र ठाउँ खोजे हुन्छ, चितवनमा सम्भव छैन । ’लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही हुँदैन उनीहरु पनि निर्वाचन क्षेत्रतिर लागिसकेको मुख्य मन्त्री पोखरेलले बताए ।
अहिले प्रचण्ड र माधव नेपालले आफैंले गरेको हर्कतको परिणाम भोगिरहेको मुख्यमन्त्री पोखरेलले बताए । टाउकोमा हान्न खोजेपछि ओलीले संवैधानिक अधिकार प्रयोग गरेर प्रचण्ड–माधवहरुलाई सडकमा पुर्याइदिएको बताउँदै पोखरेलले भने, ‘तपाईंले जे हर्कत गर्नुभयो, त्यो अहिले भोग्दै हुनुहुन्छ ।’नेकपा विभाजनको प्रमुख कारण प्रचण्डले पेस गरेको आरोपपत्र नै भएको उनले बताए । ‘तपाईंलाई इतिहासले कहिल्यै माफी गर्ने छैन’, पोखरेलले भने ।प्रचण्ड र माधव नेपालभन्दा ओलीको राजनीतिक उचाइ अग्लो रहेको बताउँदै पोखरेलले भने, ‘अहिले पनि नेपाली जनताको बीचमा तपाईंहरु भन्दा अग्लो हैसियतमा हुनुहुन्छ ।’