काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक र अमर्यादित लाञ्छाना लगाउँदै नाराबाजी गर्ने व्यक्तिको पहिचान भएको छ ।
प्रहरीले प्रचण्ड–माधव पक्षधर नेकपाका ती कार्यकर्तालाई पक्राउ गर्न सम्बन्धित युनिटलाई परिचालन गरेको स्रोतले जनाएको छ । तत्कालिन माओवादी सम्बद्ध वाइसिएलका केन्द्रीय सदस्य रहेका दार्चुलाका नरवहादुर बिष्टलाई प्रहरीले खोजी गरिरहेको एक उच्च अधिकारीले बताए ।
बिष्ट दार्चुलाको मार्मा गाउँपालिका कमिटीको नेकपा अध्यक्ष समेत रहेको जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ । जुलुसमा माइकबाटै उनले राष्ट्रपतिको नाम किटेर व्यक्तिगत चरित्रहत्या गर्ने हिसाबले अमर्यादित नारा लगाएका थिए ।
उनलाई साथ दिने अरुको पनि पहिचान भएको प्रहरी स्रोतले जनाएको छ । पार्टीले तय गरेको भन्दा बाहिर गएर नारा लगाएको भन्दै प्रचण्ड-माधव पक्षले सो नारामा आफ्नो सहमति नरहेको जनाएको छ ।
ती व्यक्तिहरुले ‘विद्या तिम्रो सिन्दूर खोई‘तिम्रो पोइ’ जस्ता आपत्तिजनक नारा लगाएको भिडियो हेरेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी लगायत नेकपा सम्बद्ध महिला संघले ती व्यक्तिको पहिचान गरि कडा कारवाहीको माग गरेको थियो ।