Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान शुरू गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महिला सेल ले घरदैलो डोर टु डोर सचेतना अभियान सञ्चालन गरेको हो ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान गरिएको हो । ‘स्पेशल टास्क डोर टु डोर अवार्नेस’ कार्यक्रम प्रभावकारी बनेकोे सेलका प्रमुख प्रहरी निरीक्षक प्रवीना गिरीले बताइन् । अभियानले गर्दा उजुरी दिन प्रहरी कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

उनले भनिन्, ‘हिंसा वा आपराधिक गतिविधिको गोप्य सूचना प्रहरीका स्थानीय एकाइमै दिन सकिनेबारे जानकारी गराइएको छ, जसले गर्दा जिल्लामा भीड कम भएको छ ।’ अपराध तथा घटनाको प्रवृत्तिअनुसार उजुरी दिन सकिने ठाउँबारे अभियानमार्फत जानकारी दिने गरिएको छ ।

चितवन महिला सेलमा आएका उजुरी घरेलु हिंसा, जबरजस्ती करणी, करणी उद्योग, बाल यौन दुरुपयोग र लागूऔषध दुव्र्यसनीलाई मूल्यांकन गरी बढी आपराधिक घटना भएको स्थानलाई मुख्य प्राथमिकतामा राखिएको छ । कानून र सजाय व्यवस्थाबारे स्थानीय जानकार बनेपछि घरेलु हिंसा, कुटपिट लगायतका घटनामा उल्लेख्य कमी आएको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले महिला प्रहरी मोटरसाइकलमा घरघरमा पुगेर अभियान सञ्चालन गरिरहेको जानकारी दिए । २ वटा मोटरसाइकलमा ४ जना महिला प्रहरी यस अभियानमा खटिएका छन् । यसको प्रभाव राम्रो रहेको उनले बताए ।

‘स्थानीय समुदाय र पीडितले खुलेर आफ्ना समस्या राख्न सकेमा अपराध नियन्त्रणमा सहयोग पुग्छ,’ उनले भने । – रासस

तपाईको प्रतिक्रिया