जनकपुरधाम । २नम्बर प्रदेशमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई ठूलो झड्का लागेको छ । जनयुद्धकाल देखि नै प्रचण्डको साथमा रहेका पूर्व माओवादीका तर्फबाट सांसद भएका ६ जना प्रदेश सांसदहरु नेकपाको केपी शर्मा ओली पक्षमा लागेका छन् ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ ९ख०बाट साविकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका प्रदेश सांसद रामचन्द्र मण्डलसहित कून ६ जना प्रचण्ड पक्षधर नेताहरु ओलीतर्फ लागेका छन् । सांसद मण्डल प्रदेश सभामा प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति पनि हुन् ।
मण्डलका अनुसार सिरहाको निर्वाचन क्षेत्र नम्बर ४(क)बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित दिलिपकुमार साह, रौतहटको ३ (ख)बाट निर्वाचित कुन्दनप्रसाद कुशवाहा, बाराको ३(क)बाट निर्वाचित ज्वाला कुमारी साह, बाराका समानुपातिक सांसद मोहम्मद समिर, सिरहाबाट समानुपातिक सांसद फुलियादेवी सदायसहित कूल ६ जना पूर्वमाओवादीको तर्फका सांसदहरु ओली पक्षमा खुलेर लागेका छन् । दिलिप कुमार साह मातृकाप्रसाद यादवका पूर्वज्वाइँ पनि हुन् ।
‘आफू शिक्षकको जागिरलाई त्यागेर शुरू देखि नै बलिदानी हुनका निम्ति माओवादीमा लागेको व्यक्ति हूँ,’ धनुषाका सांसद मण्डलले भने, ‘तर, अध्यक्ष प्रचण्डले माओवादलाई तिलाञ्जली दिँदै, क्रान्ति सँग गद्दारी गर्दै आफ्नो व्यक्तिगत लाभ, सत्ता स्वार्थ र परिवारवादमा मात्र केन्द्रित भएका कारण पूर्वमाओवादी खेमा छोडेर ओली खेमामा लागेको हो । ’
प्रचण्डले मधेशमा नेता भनेको मातृकाप्रसाद यादवलाई मात्र बुझ्ने तथा अन्य नेताहरु प्रभु साहसहित प्रतिभाशाली नेताहरुलाई स्थान कहिल्यै नदिने गरेको कारण समेत कतिपय नेताहरुमा प्रचण्डप्रति असन्तुष्टि रहेको उनले बताए । लोकान्तरबाट