
गैँडाकोट । नवलपरासी (पश्चिम) प्रहरीले २ लाख ७५ हजार ३ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।
नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको २३ हजार ३ सय मुल्य बराबरको लेडिज कुर्ता, कटनको पटुकी , चिनी, बिजुलीको चिम लगायतका बिभिन्न मालसामान र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २८ हजार मुल्य बराबरको ३५० केजी सेतो मटर जिल्लाको सरावल गाउँपालिका वडा नं. ७ शंकरपुरबाट बरामद गरिएको नवलपरासी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राजुु लामाका अनुसार बुधवार दिउसो ३ वजे प्रहरी चौकी भुजहवाबाट खटिएको टोलीले ति समानहरु बरामद गरेको हो । मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थिए ।
त्यसैगरी आजै नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी २ लाख मुल्य बराबरको १५ क्वीन्टल मटर र १० क्वीन्टल मुरली मकै साथै भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी २४ हजार मुल्य बराबरको ८ बोरामा ४ क्वीन्टल चिनी प्रहरी बरामद गरेको छ ।
डिएसपी लामाका अनुसार प्रहरी चौकी बसहियाबाट खटिएको टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट सो परिमाण बराबरको अवैध समान बरामद गरेको हो । बरामद गरिएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको नवलपरासी( पश्चिम) प्रहरीले जनाएको छ ।