×

काठमाण्डौ – काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ, यो न्यूनतम तापक्रमा यस वर्ष लागेपछि अहिलेसम्मकै सबैभन्दा कम हो ।

मौसमविद् सजिना शाक्यका अनुसार रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । यसअघि यस वर्ष काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो ।

गएको शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।सोमबार र अस्ति आइतबार मौसम बदली भएकाले तापक्रम बढ्दा काठमाण्डौमा केही न्यानो थियो । आज अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

यस्तै अहिले काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । बिहान लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार आज  राति भने सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । अन्य क्षेत्रको मौसम भने सफा रहने छ ।

तपाईको प्रतिक्रिया