काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षले सरकारविरुद्ध आज राजधानी काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड-माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो ।
केन्द्रीय कमिटीको ८ पुस बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो ।
७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम भए पनि नेकपाले मुख्यगरी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । विशेष गरी वागमती प्रदेशभरको शक्ति काठमाडौंमा केन्द्रित गर्न लागेको नेकपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दै छ ।
केन्द्रीय आन्दोलन परिचाल समितिका अनुसार बिहान ११ बजे सुरु हुने प्रदर्शन काठमाडौंका ६ ठाउँबाट जुलुस शुरु हुने छन् । काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल,घण्टाघर, रत्नापार्क र बागबजार क्षेत्रबाट जुलुश निस्कनेछन् ।
स्थायी कमिटी सदस्य वर्षमान पुनले राजधानीको प्रदर्शनमा ५० हजार मान्छे उतार्ने दावी गरेका छन् । युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले काठमाडौंको शक्ति प्रदर्शका लागि व्यापक तयारी आफूहरुले गरेको बताए ।