×

चितपन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेरको छ । उक्त बाघको आक्रमणमा परी दुई वटा माउ अर्ना मरेका हुन् ।

निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज सोमबार दुई वटा अर्ना मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । ती दुई बयस्क पोथी रहेको उहाँले बताउनुभयो । विद्युतीय तारवार (ईलेक्ट्रीक फेन्स) ले खुल्ला खोर बारिएको छ । उक्त बारमा रुखको हाँगा झरेर केही दबेको ठाउँबाट उफ्रेर बाघ भित्र प्रवेश गरेको अधिकारीले जानकारी दिनुभयो ।

खोरभित्रै रहेको बाघलाई निकुञ्जका प्राविधिकहरुले आजै नियन्त्रणमा लिएर निकुञ्जको भित्री (कोर) ईलाकामा छाडेका छन् ।

सरकारको विसं २०७१ को निर्णयानुसार विसं २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालिन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले छ वटा अर्ना यस अघि नै मरेका थिए ।

स्थानान्तरण गरी यहाँ ल्याएपछि हालसम्म ३ भाले, दुई पोथी र एक हालै जन्मिएको लिंग पहिचान नभएको गरी ६ वटा बच्चा जन्मिएका छन् । अब निकुञ्जमा बच्चा र बयस्क गरी १३ वटा अर्ना रहेका छन् ।

 

तपाईको प्रतिक्रिया