×

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा आज मंगलबार अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।

ओलीका समर्थकहरुले भरतपुरस्थित चौविसकोठीमा साँझ दीपावली गरेसंगै प्रदर्शन गरेका हुन् । उनीहरुले केपी ओली जिन्दाबाद, नेकपा जिन्दावाद, भोट के मा  सूर्यमा, जबज जिन्दाबाद लगायतका नारा लगाएका थिए । कार्यक्रममा युवा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दीपावलीको सुरुवात गर्दै नेकपाका युवा नेता कमलराज पाठकले देशलाई समृद्ध बनाउन ओलीले पार्टी एकता गरेको भन्दै छोटो समयमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले देश र जनताको भन्दा पदको लोभका कारण नेकपा जटिल मोडमा पुगेको बताउनुभयो । उहाँले पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष ओलीलाई साथ दिन आग्रह गर्नुभयो ।

‘नेपाली कम्युनिष्ट आन्दोलन बचाउन र देशलाई समृद्ध बनाउन कमरेड माधव र बामदेवलाई एक भएर आउन आग्रह गर्दछु’–उहाँले भन्नुभयो ।युवा नेता पाठकले देशलाई द्धन्द्धमा धकेलेर उदाएका प्रचण्डले नेकपालाई समाप्त पार्ने गरी अघि बढिरहेको आरोप समेत लगाउनु भयाे ।

तपाईको प्रतिक्रिया