चितवन- पहाड झरेर थुनिएको माडीको परुइ खोलाको पहिरो पञ्छाउने काम थालिने भएको छ ।
पुस १ गते सोमेश्वर पर्वत श्रृङ्खलामा पर्ने एउटा डाँडो भत्कँदा खोला पुरिएको थियो । माडी नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने परुइ खोलाको ५०० मिटर क्षेत्र २० मिटरभन्दा बढी उचाइसम्म पुरिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले थुनिएको खोलामा पानी भरिँदै गएमा वर्षातमा एकैसाथ फुटेर ठूलो नोक्सान हुन सक्ने बताउनुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको विपद् व्यवस्थापन समितिको टोलीले सोमबार यस क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । अध्ययन तथा अनुगमनपछि नगर प्रमुख ढकालले तत्काल जेसीबी लगेर खोला खोल्ने काम सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नगरपालिकाको प्राविधिक टोलीले काम थाल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ुजेसीबी लगेर काम गर्न सकिन्छ वा सकिँदैन यसै भन्न सकिँदैन तर हामी प्रयास गर्दैछौँ ।
ढकालका अनुसार वर्षातको समयमा पानी थुनिएर पहिरो फुटेमा माडी नगरपालिकाका वडा नं ५, ८ र ९ बाहेकका सबै वडामा प्रभाव हुनेछ । सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल समस्याको समाधानको खोजी गर्न लागिएको उहाँको भनाइ छ ।
खोला थुनिएको क्षेत्रमा निकै अग्लो बाँध बनेको छ । खोला थुनिएपछि तल्लो क्षेत्रमा खानेपानी र सिँचाइका लागि सङ्कट सुरु भएको स्थानीयवासीको भनाइ छ ।