
हेटौंडा । मकवानपुरको हेटौंडा–८ कमानेमा रहेको मकवानपुर मैदा मिलमा कार्यरत मजदुर तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित काममा रहेका मजदुर तथा कर्मचारीलाई सन्चालकले काममा नआउनू भनेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उद्योग स्थापनाताकाबाट काम गर्दै आएका मजदुर तथा कर्मचारीले खाइपाइ आएको सुबिधा पुस १ गतेदेखि दिन नसक्ने भन्दै उद्योग सञ्चालक रमेशराज कर्णिकारले काममा नआउन भनेको उनीहरुको भनाइ छ ।
कर्णिकार ओशो तपोवनका अध्यक्षसमेत हुन् । उनी काठमाडौंमा बस्दै आएका छन् । उनले फोन गरेर काममा नआउन भनेपछि आफूहरु तनावमा परेको मजदुरहरुको भनाइ छ ।
उद्योगमा १५ वर्षदेखि काम गर्दै आएका मजदुरलाई सेवा सुविधाविनै निकाल्ने तयारी गरेको आशंका मजदुरहरुको छ । त्यसैले उनीहरुले उद्योगको उत्पादन बाहिर लैजान नदिने र बाहिरबाट सामान भित्र ल्याउन समेत नदिने चेतावनी दिएका छन् ।
‘हामीले उद्योग बन्द गर्न हुँदैन भन्दै नियमित काममा आयौं, उत्पादन दियौं, अहिले एक्कासी किन नआउनू भनेको हो बुझ्न सकेनौं,’ मजदुर रमेश श्रेष्ठले भने ।
अर्की मजदुर धनकुमारी देवकोटाले भनिन्, ‘हामी वर्षौंदेखि काममा छौं, एक्कासी काममा नआउनू भन्दा हाम्रो परिवारको बिचल्ली हुने भयो ।