
भरतपुर । गैर आवासिय नेपाली संघ (एनआरएनए) ले क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरलाई विपत व्यवस्थापन एम्बुलेन तथा रक्त संकलन गर्न घुम्ती बस हस्तान्तरण गरेको छ | भरतपुर महानगरपालिकाको समन्वयमा एनआरएनएले आज (शुक्रबार) एक कार्यक्रमकाबीच केन्द्रलाई बस हस्तान्तरण गरेको हो। संघले भरतपुर महानगरपालिकालाई र महानगरपालिकाले केन्द्रलाई बसको चाबी हस्तान्तरण गरेको हो ।यस्तै उक्त बस सहयोग, समन्वय र व्यवस्थापनका लागि एनआरएनए, महानगरपालिका र केन्द्रबीच त्रीपक्षिय सम्झौता पनि भएको छ।
कार्यक्रममा बोल्दै महानगरप्रमुख रेणु दाहालले रक्त संकलन गर्न घुम्ति बस सहयोग गरेर स्वास्थ्यको क्षेत्रमा एनआरएनएले महत्वपूर्ण योगदान पुऱ्याएको बताईन् । मेयर दाहालले पुर्व र पश्चिम जोड्ने सडक चितवन हुँदै जाने हुँदा दुर्घटनाको सम्भावना बढी रहने भएकोले यस किसिमको रक्त संकलन गर्ने सुविधा सम्पन्न आधुनिक बस आवश्यक रहेको बताईन् । उनले कोभिड १९ को महामारीको समयमा पनि एनआरएनएबाट बिभिन्न स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको बताईन् । जिल्लामा रगत अभाव हुन नदिनका लागि रक्त सञ्चार केन्द्रसँग समन्वय गरेर बसको सही सदुपयोग गर्ने उनको भनाई छ।
गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतले रक्तदान जस्तो पवित्र दानका लागि बस सहयोग गर्न पाउदा खुशी लागेको बताए । उनले बिभिन्न देशमा रहेका गैर आवासिय नेपालीहरुको सक्रियताले रक्त संकलन बस सहयोग सम्भव भएको बताए । उक्त रक्त संकलन बस सहयोग विदेशमा रहेर पनि देशलाई समृद्धिको बाटोमा अघी बढाउन सकिन्छ भन्ने एउटा साधारण उदाहरण मात्र भएको उनको भनाई छ। क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलले रक्त सञ्चार सेवालाई व्यवस्थित बनाउनका लागि रक्त संकलन बस आवश्यक भन्दै सहयोगका लागि एनआरएनएलाई धन्यवाद दिए ।
नेपालकै रक्त सञ्चार सेवालाई व्यवस्थित बनाउनका लागि एनआरएनएसँग लामो समयदेखि छलफल भएको समेत उनले बताए बस प्राप्त भए संगै घुम्ति रक्तदानका कार्यक्रमहरु गर्न सहज हुने उनको भनाई छ ।