×

काठमाडौं । राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहका अनुसार हत्या आरोपमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइलाई आइतबार पूर्वपक्षका लागि कारागार चलान गरिएको हो।

प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले मंसिर २४ गते पक्राउ गरेको थियो।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईका अनुसार पक्राउ परेका आलम चर्चित बम कान्डका मुख्य योजनाकार हुन्।

प्रदेश प्रहरी कार्यालयको टोलीले सोमबार बिहान बौद्धिमाई नगरपालिका वडा नम्बर ७ बडकी बंकुल एरियाबाट उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका महताब आलमकै नेतृत्वमा राजपुरमा बम बनाउने काम भइरहेको थियो। संविधान सभाको निर्वाचनमा धाँधली गरी बुथ कब्जा गर्न र महम्मद आफताब आलमलाई जसरी पनि चुनाव जिताउन पक्राउ परेका आलमले नेपाल तथा भारतको विभिन्न ठाउँबाट बम बनाउन सक्ने मानिसको खोजी गरी ल्याएका थिए र आफ्नै नेतृत्वमा सामानहरु जुटाइ बम बनाउने काम पनि गरेका थिए। २०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बिस्फोट भएको थियो।

पक्राउ परेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा महम्मद महताब आलमले आफ्नो दाइ मोहम्मद आफताब आलमको निर्देशनमा घटना लुकाउने उदेश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरुलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

सांसद महम्मद आफताब आलमको सम्पूर्ण अपराधको ढाकछोप सोमबार पक्राउ परेका आलमले नै गर्दै आएको र सांसद आलमले अपराधको संरक्षण दिने गरेको आरोप जनता सामाजवादी पार्टीका नेता किरण साहले लगाएका छन्।

तपाईको प्रतिक्रिया