×

काठमाण्डौ – चिनी मिलहरुबाट भुक्तानी नपाएपछि ​सर्लाहीका उखु किसानहरु आन्दोलन गर्न काठमाण्डौ आइपुगेका छन् ।

उखुको भुक्तानी नपाएपछि बाध्य भएर काठमाण्डौ आउनु परेको सर्लाहीका किसान राकेश मिश्रले बताउनुभयो । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने आन्दोलनका लागि केही किसान काठमाण्डौ आइसकेका र केही आउँदै गरेका मिश्रले जानकारी दिनुभयो ।

गएको वर्ष पनि चिसो मौसमको सामना गर्दै माइतीघरमा धर्ना दिएका किसानहरुलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि फर्किएका थिए । तर सरकारले गरेको पाँचबुँदे सहमति कार्यान्वयन नभएकाले यस वर्ष आफूहरुले पाउनुपर्ने सबै रकम नलिइकन आन्दोलन नरोक्ने किसान मिश्रले बताउनुभयो ।

आन्दोलनको अगुवाइ उखु किसान संघर्ष समिति सर्लाहीले गरेको पनि मिश्रले बताउनुभयो । माइतीघरमा हुने आन्दोलनमा एक हजारभन्दा धेरै किसानले सहभागिता जनाउने मिश्रले बताउनुभयो । चिनी मिलबाट वर्षौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको उनीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया