काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आजसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन ।
बरु दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् । दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भैरहेको नेताहरुले बताएका छन् ।
२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशससिहतको पत्र पठाउनुभएको थियो ।
मङ्सिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गएको कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावबारे नेकपाका शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।