Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर साहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई आज स्वागत गर्दै उहाँले पार्टी भित्र चल्ने बहस र छलफलहरु त्यही समाजवाद तिरको यात्राका लागि भएको पनि दावी गर्नुभयो ।

कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता पालना गर्ने लगायतका कुरा नै अहिलेको बहसका विषय भएको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले चुनौतिहरु आए पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टी भित्रै रहेको जिकिर गर्नुभयो । कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले समाजमा रहेका सबै विकृति, विसंगति, भेदभाव, अन्याय अत्याचार र थिचोमिचोलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा सदस्य रही सकेकी साहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन । मानिसहरुको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने रहेछ ।’

पार्टीमा प्रवेश गर्दै नेतृ साहले नेपाली काँग्रेसमा गुण्डा पाराले पार्टी भित्र हैकम चलाएकाले आफूले पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले देशमा आएको जाति, लिंग र समुदायहरुमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गर्नुभयो । काठमाडौँ महानगरपालिकाको नेपाली काँग्रेसको नगर सदस्य रहनुभएकी उहाँ विगतमा नेपाल विद्यार्थी सङ्घ पद्मकन्या क्याम्पसमा नेविसङ्घमा आवद्ध हुनुहुन्थ्यो ।

यस्तै उहाँ २०६२र०६३ सालको आन्दोलनमा चार पटक हिरासत बस्नुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट उहाँ संविधानसभा सदस्य हुनुभएको थियो । उज्यालो अनलाईनबाट

तपाईको प्रतिक्रिया