नवलपरासी । पूर्वी नवलपरासीको दुम्किबासमा एक जना ट्याक्टर चालकको निधन भएको विषयलाई लिएर दुम्किबास तनाबग्रस्त भएको छ ।
विहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी कार्यालय दुम्किबास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग राति १ बजेदेखि अवरुद्ध भएको छ भने झडपसम्म समेतको स्थिति सिर्जना भएको छ । प्रहरीले घटनालाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने दोहोरो झडपमा दुई जना प्रहरी सामान्य घाइते भएको छ ।प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरेको छ ।
राति विनयी खोलामा अवैद्य रुपमा बालुवा चोर्न गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना भई घाइते भएको चालकको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ भने स्थानीयले प्रहरीले कुटपिट गरेर मारेको दावी गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले नदीमा बालुवा चोरी रहेका ट्याक्टरहरु नियन्त्रणमा लिने क्रममा भागाभाग हुँदा ट्याक्टर दुर्घटनामा भएको बताए ।
मल्लका अनुसार विनयी त्रिवेणी १ विनयी खोलामा लु ३ त ८१७५ नम्बरको ट्याक्टरमा चालकले प्रहरी गएको देखेपछि ट्याक्टरको बत्ति निभाएर भाग्ने क्रममा दुर्घटना भई सोही ट्याक्टरका चालक दाङको राजपुर गाउँपालिका ४ निवासी २४ बर्षीय हरिश्याम यादव गम्भीर घाइते भएको र उनको राति नै उपचारको क्रममा भरतपुर अस्पतालमा निधन भएको जनाएको छ ।
प्रहरीले विनयी त्रिवेणी खोलाबाट राति ४ वटा ट्याक्टर समेत नियन्त्रणमा लिएको छ ।