
दयाराम आचार्य
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै छ । पूर्वाधार विकासका योजना थपिँदै छन् । यसले नवलपुरमा आर्थिक गतिविधिसमेत बढाएको छ ।
राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांक अनुसार नवलपुरमा आर्थिक गतिविधि बढेको छ । नवलपुरमा कूल १२ हजार ७४५ वटा आर्थिक प्रतिष्ठान रहेको तथ्यांकमा उल्लेख छ । यो गण्डकी प्रदेशका ११ वटा जिल्लामध्ये दोस्रो स्थान हो ।
प्रदेशको कास्कीमा सबैभन्दा बढी ३० हजार ७४५ प्रतिष्ठान रहेका छन् । तेस्रो स्थानमा रहेका तनहुँमा १२ हजार ४३३ वटा प्रतिष्ठान रहेका छन् । यस तथ्यांकले पनि नवलपुर गण्डकी प्रदेशको आर्थिक केन्द्र बन्दै गएको देखाएको छ ।
भारतीय सीमा क्षेत्रसँग जोडिएको भएकाले पनि यहाँ उद्योग, कल कारखाना खुल्ने क्रमसमेत बढ्दै गएको छ । कच्चापदार्थ ढुवानीमा सहजता हुने भएकाले यहाँ आर्थिक प्रतिष्ठान केन्द्रित हुन थालेका हुन् । नवलपुरमा विसं २०७० यता पाँच वर्षको अवधिमा आर्थिक कारोबार गर्ने प्रतिष्ठान खुल्ने क्रम तीव्र रुपमा बढेको छ ।
जिल्लामा रहेका कूल प्रतिष्ठानमध्ये सात हजार ९२४ अर्थात ६२ दशमलब २० प्रतिशत प्रतिष्ठान विसं २०७० देखि २०७५ को अवधिमा स्थापना भएको तथ्यांकले देखाएको छ । यसले पछिल्ला वर्षमा जिल्लामा आर्थिक गतिविधि बढेको देखाएको छ ।
लगानीको वातावरण बढ्दै जानु, मानिस सीप सिकेर आफ्नो स्वरोजगारमूलक पेशा व्यवसाय गर्ने क्रम बढदै जानु, सीमा क्षेत्रसँग जोडिएको जिल्ला भएकाले पनि जिल्लाको आर्थिक गतिविधि चलायमान हुँदै गएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले बताए ।
‘सरकारले थप लगानीमैत्री वातावरणको निर्माण र आवश्यक सुरक्षाको पबन्ध गर्ने हो भने जिल्लामा आर्थिक प्रतिष्ठान स्थापनाको दरमा अझै तीव्रता आउँछ’, उनले भने, ‘यसले मुलुकको विकास र समृद्धिमा उल्लेखनीय टेवा पु¥याउन सक्छ ।’
नवलपुरस्थित १२ हजार ७४५ आर्थिक प्रतिष्ठानमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा तीन हजार १६५ वटा रहेका छन् । यस्तै गँंडाकोटमा दुई हजार ८५४, देवचुलीमा दुई हजार ५४, मध्यविन्दुमा एक हजार ६२२, विनयी त्रिवेणीमा एक हजार १००, हुप्सेकोटमा ८६२, बौदिकालीमा ५६५ र बुलिङटारमा ५२३ आर्थिक प्रतिष्ठान रहेको तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमुर्ती भण्डारीले बताए ।
जिल्लामा ४६ दशमलव ७० प्रतिशत प्रतिष्ठान दर्ता भएका छन् भने ५३ दशमलव ३० प्रतिशत प्रतिष्ठान दर्ता बिना नै सञ्चालनमा रहेको बताइएको छ । दर्तामा नभएका आर्थिक प्रतिष्ठानलाई सहज वातावरण बनाएर दर्ता प्रक्रियामा ल्याउनुपर्ने नवलपुर उद्योग संघका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए ।
उद्योग संघका अनुसार आर्थिक क्रियाकलापका आधारमा नवलपुरमा सबैभन्दा बढी ५६ दशमलव ६० प्रतिशत थोक तथा खुद्रा व्यापार, मोटरगाडी, मोटरसाइकल मर्मत, १३ दशमलव ९० प्रतिशत आवास सुविधा तथा खाना व्यवस्था र १२ दशमलब १० प्रतिशत औद्योगिक उत्पादनका प्रतिष्ठान छन् । ती प्रतिष्ठानमा ३८ हजार ३९६ जनाले रोजगारी पाएका छन् । तीमध्ये २२ हजार ५३ पुरुष र १६ हजार ३४३ महिला रहेका छन् ।
साथै, नवलपुर क्षेत्रको नारायणी किनार र मध्यवर्ती क्षेत्र चरा अवलोकन गर्ने पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाका सामुदायिक वन, नारायणी नदी र ताल तलैया वरपर चरा अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो । केही वर्षअघिसम्म गैंडा, बाघ र अन्य जङ्गली जनावर हेर्नका लागि आउने पर्यटक अहिले चरा हेर्न भन्दै यस क्षेत्रमा आउने गरेका छन् । – रासस