
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले मिक्लाजुङ, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पाइएको छ ।
मिक्लाजुङ गाउँपालिका १, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । श्रेष्ठलाई अपरिचित समूहले लिएर गएको र गोली पड्किएको जस्तो आवाज सुनेपछि स्थानीयबासीले खोजी गरेका थिए ।
त्यसक्रममा श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । गोली चलेको आवाज पनि सुनेकाले गोली हानेर हत्या गरेको स्थानीयले अनुमान गरे । र, प्रहरीले पनि त्यही सूचना दिएको थियो ।
तर मधुमल्लाबाट प्रहरी नायब निरीक्षक ९सई० को नेतृत्वमा गएको टोली अपराधस्थलमा पुगेर मृतकको श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको छ । शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले अनलाइनखबरलाई जानकारी दिए । उनको हत्यापछि विप्लव समूहका कार्यकर्ता हवाई फायर गर्दै हिँडेको हुनसक्ने अनुमान छ ।