काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिनुभएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आजबाट सुरु भएको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाउनु भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार ओलीले आफ्नो पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसक्ने आफ्नो मान्यता रहेकाले बैठकमा आउन नसक्ने बताएका छन ।
प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव छलफल गर्न लायक नरहेकोले सो प्रस्तावमाथि छलफल हुने बैठकमा आफू सहभागी नहुने जानकारी बैठकलाई गराउनु भएको हो । ओलीले आफ्नो अनुपस्थितिको कारण जनाएर बैठकमा पत्र पठाउनु भएको छ । पत्रमा आफ्नो पूर्वमान्यता अध्यक्ष प्रचण्डको प्रस्तावलाई बैठकमा औपचारिक रुपमा छलफल गर्न नमिल्ने धारणा रहेकोले बैठकमा नआएको जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले बैठकपछि जानकारी दिनुभयो ।