×

गैँडाकोट । नारायणगढ–बुटवल सडक खण्ड आयोजनाका मजदुर र व्यवस्थापन पक्षबीच सहमति जुटेपछि आन्दोलनरत मजदुर काममा फर्केका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा सहमति जुटेपछि आन्दोलनरत उनिहरु काममा फर्किएका हुन । बैठकमा मजदुरहरुका मागहरु एकसाता  भित्रमा सम्बोधन गर्ने सहमति भएको छ ।
न्युनतम डिउटी अवधी ८ घण्टाको हुने ८ घण्टा भन्दा वढि काम लगाएमा १.५ अर्थात डेढ गुणाका दरले प्रति घण्टा ओभर टाईमा दिने विषयमा सहमती जुटेको छ । त्यस्तै शनिबार काम गरेको ओभर टाईम पनि डेढ गुणाले दिने भएको छ । प्रत्येक कामदारको न्युनतम सेवा सुविधा र क्षतिपुर्ति उल्लेख गरी सम्झौता गर्ने, साईटमा काम गर्ने मजदुरलाई सुरक्षाका न्युनतम सामग्री उपलब्ध गराउने, प्रत्येक कामदारको दुर्घटना बीमा गर्ने, उपचारको व्यवस्था, परिचय पत्र दिने विषयमा सहमती पत्रमा हस्ताक्षर भएको छ । यसैगरि कामदारबाट गल्ती भएमा सुधारका लागि मौका दिनुका साथै छानविन पछि आवश्यक कारवाही हुने उल्लेख गरिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाड, नारायणगढ–बुटवल सडक खण्ड आयोजना प्रमुख रहेश कुमार दिष्टी, आयोजना म्यानेजर भूमिनन्द ढकाल, ईन्जिनियर दण्डपाणि जैसी, कन्ट्रयाक्ट म्यानेजर लिन होङ्ताओ, अखिल नेपाल ट्रेड यूनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोल लगायतको उपस्थिती रहेको थियो ।

 

 

सडक फराकिलो पार्ने ठेक्का पाएको चिनिया ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले डेढ महिना अबधिको २ सय ५० मजदुरको ज्याला नदिएको भन्दै मजदुरहरु ३ दिनदेखी आन्दोलनमा उत्रिएका थिए ।

तपाईको प्रतिक्रिया