×

काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कम्तीमा ११० निर्दोष किसानको बर्बर हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।शनिबार दिउँसो युद्धग्रस्त बोर्नो राज्यको राजधानी मैडुगुरीको नतिजा जेरे क्षेत्रको ग्रामीण कोशोबे र अन्य ग्रामीण क्षेत्रका किसानको हत्या गरिएको हो ।

नाईजेरियास्थित संयुक्त राष्ट्रसंघका मानविय सहायता संयोजक एडवार्ड कालोनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मोटरसाइकलमा आएका हतियारधारीले आफ्नो खेतमा बाली थन्क्याउने काम गरिरहेका पुरुष र महिलाहरुमाथि बर्बर आक्रमण गरेका थिए ।’

उनका अनुसार हतियारधारीले कम्तीमा ११० जना किसानको निर्ममतापूर्वक हत्या गरेका छन् भने आक्रमणमा अन्य धेरै घाइते भएका छन् ।ठूलो संख्यामा महिलाहरुको अपहरण भएको अनुमान छ । ‘यो घटना यस वर्षको सबैभन्दा हिंसात्मक र प्रत्यक्षरुपमा निर्दोष नागरिकमाथि गरिएको आक्रमण हो ।

म यो जघन्य र विवेकहीन कार्यको लागि अपराधीहरुलाई कानुनी कारबाहीको लागि माग गर्छु,’उनले भनेका छन् ।अहिलेसम्म यो घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । यद्यपि बोको हरामले यो आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।त्यस्तै नाइजेरियामा इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स आईएसडब्ल्यूएपीले पनि ठूला आक्रमण गर्दै आएको छ । दुवै संगठन नाइजेरियामा सक्रिय छन् ।

पछिल्लो दशकमा मात्र ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।साथै नाइजेरियामा जारी युद्धको कारण करिब २० लाख मानिस विस्थापित भइसकेका छन् ।नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन् ।उनी सन् २०१५ मा मुलुकको सुरक्षा संकट समाधानको प्रतिबद्धतासहित राष्ट्रपति बनेका थिए ।उनले आतंकवादीले बोर्नो राज्यमा गरेको आक्रमणको निन्दा गर्दै उक्त विवेकहीन आक्रमणबाट समग्र मुलुक आहत भएको बताएका छन् ।

सुरक्षा विश्लेषक सुलेक्ष्मान अलेदेह युद्ध रोक्नमा नाइजेरियाको सरकारको असफलताको कारण धेरै मानिसहरुमा निराशा बढ्दो क्रममा रहेको बताउँछन् ।उनका अनुसार पछिल्लो समय नाइजेरियाको सरकारले यो संकटबाट पार पाउनका लागि उल्लेख्य रुपमा केही गर्न सकेको छैन ।

त्यसैले मानिसहरुको सरकारप्रतिको आक्रोश बढ्दो क्रममा देखिएको छ ।बोर्नोका गभर्नर बाबाबनगनान जुलुमले संघीय सरकारलाई थप सैनिहरु परिचालन गरी आफ्नो राज्यका किसानहरुको सुरक्षाको लागि माग गरेका छन् ।उनले मानिसहरुको फरक फरक किसिमको रोजाइको कारण अहिले आफ्नो क्षेत्रमा समस्या उत्पन्न भइरहेको उनको भनाइ छ ।विश्वव्यापी परिवर्तनबारे अध्ययन गरिरहेका विश्लेषक बुलामा बुकर्टीले बोको हरामलाई रोक्न नसक्दा नाइजेरियाको अर्थतन्त्र धरासायी भइरहेको बताउँछन् ।
उनका अनुसार नाइजेरियाको सेनाले यो युद्ध गुमाइरहेको छ ।

सन् २०१९ मा नाइजेरियामा बोको हरामसँगको युद्धमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको थियो ।गत वर्ष नाइजेरियामा आठ सय सैनिकको मृत्यु भएको थियो ।यसको जवाफमा सरकारले भने धेरै सेनाको क्षति कम गर्न भन्दै साना क्याम्पहरु हटाउँदै ठूलो क्याम्प बढाउने नाममा विकट तथा ग्रामीण क्षेत्रहरुबाट सेना हटाउने निर्णय गर्‍यो ।यस किसिमको नीतिले नाइजेरियामा मारिने सेनाको संख्या त घट्यो तर यो कदम ग्रामीण क्षेत्रमा सरकारले बोको हरामसँग आत्मसमर्पणजस्तो बन्न पुग्यो ।

बुकर्टीका अनुसार अहिले उत्तरपूर्वी र उत्तर पश्चिमी क्षेत्रमा आपराधिक संगठनहरुले आफ्नो शासन चलाइरहेका छन् ।नाइजेरियाको बोर्नो राज्य खेतीको लागि निकै उपयुक्त मानिन्छ । यहाँ बालीका लागि पर्याप्त मात्रामा पानी पाइन्छ ।त्यसैले यहाँका नागरिकहरुलाई पनि केही फाइदा पुगिरहेको छ । तर, पछिल्लो समय देखिएको असुरक्षाले भने यहाँको अवसरलाई साँघुरो पार्दै लगेको छ ।

तपाईको प्रतिक्रिया