×

चितवन । कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । आज (शनिबार) कालिकामा आयोजित कार्यक्रममा १०१ सदस्यीय फाउण्डेशन र १०१ सदस्यीय स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको हो ।
मदन भण्डारी फाउण्डेशन नगर कमिटीको अध्यक्षमा केशव लामा रहनु भएको छ । समितिका उपाध्यक्षहरुमा लक्ष्मण पौडेल, भोजराम थपलिया र ज्योति सुनार रहनु भएको छ भने सचिवमा सिपी अधिकारी, कोषाध्यक्षमा विमला लामा र सहसचिवमा होमनाथ मरहठ्ठा चयन  हुनु भएको छ ।
यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमी कालिका नगर कमिटीका अध्यक्षमा पूर्ण महतो, उपाध्यक्षमा नगेन्द्र गिरी, लोकराज चालिसे, नविन थापा, प्रेम थापा र कमल रिजाल, सचिवमा युवराज कामना गुरुङ, सहसचिवमा निमा दोर्जे तामाङ (अनिल), कोषाध्यक्षमा पल्लवी अधिकारी र सहकोषाध्यक्षमा रमेश सिंखडा रहनु भएको छ ।
दुवै समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले केपी ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु जनताको बहुदलीय जनवाद (जबज) को बाटोमा हिँडेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिस्पर्धाबाट जनताको मन जितेर सत्तामा जाने नीति जबजले नै लिएको बताउँदै भन्नुभयो “जबजको बाटोमा हिँड्ने तर त्यो बाटोमा हिँडेको छु भन्न डराउने प्रवृत्ति छ ।” लोकतन्त्रमा यो विषयमा बोल्न पाईन्छ र यो विषयमा बोल्न पाईदैन भन्ने नमिल्ने बताउँदै मन्त्री ढुंगेलले भन्नुभयो “फाउण्डेशनमा जबजको बारेमा बहस गर्न कसैले रोक्न मिल्दैन ।” मदन भण्डारी फाउण्डेशन विद्यालय भएको बताउँदै उहाँले भन्नुभयो “नेपालको कम्युनिष्ट आन्दोलनको बाटो जबज बाहेक अरु छैन ।”
युवाहरु राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्ने बताउँदै मन्त्री ढुंगेलले भन्नुभयो “एउटा हातमा राजनीतिक झण्डा र अर्काे हातमा उद्यम रोजगारीको झण्डा बोकेर अगाडि बढ्नुपर्छ ।” राजनीतिसँगै व्यवसायिकतातर्फ नजाने हो भने समाजवादको बाटोमा अगाडि बढ्न नसकिने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेश सभासद् विजय सुवेदी, फाउण्डेशन जिल्ला बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम बिष्ट, फाउण्डेशन १ नम्बर क्षेत्रीय समिति सल्लाहकार यादव पाठक, फाउण्डेशनका जिल्ला सदस्य तथा कालिका वडा नं. ३ का वडाअध्यक्ष टिकाराज रिजाल, मदन भण्डारी स्पोर्टस् एकेडेमी कालिका नगर कमिटी सचिव युवराज गुरुङ लगायतले बोल्नु भएको थियो ।
नगर अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण पौडेलले स्वागत गर्नुभएको थियो भने सचिव सिपी अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
सो अवसरमा नवगठित दुवै समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सचिव श्याम बिष्टले शपथग्रहण गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया