चितवन । भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डा। जगन्नाथ तिवारी नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको मन्त्रीस्तरको निर्णय अनुसार उहाँलाई अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट नियुक्त गरिएको हो ।
दसौँ तहका मेडिकल चिकित्सक डा. तिवारी भरतपुर अस्पतालको ईमर्जेन्सी विभागका विभागीय प्रमुख हुनुहुन्थ्यो । यसअघि डा. तिवारीसँग अर्घाखाँची जिल्ला अस्पतालको प्रमुख एवम् जिल्ला स्वास्थ्य प्रमुख बनेर ६ वर्ष काम गरेको अनुभव छ । डेढ दशक लामो समयदेखि सरकारी सेवामा कार्यरत उहाँ यसअघि विभिन्न अस्पतालमा प्रमुखको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ ।
यसअघि अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा। राजन पाण्डेले गत बुधवार पदबाट राजीनामा दिनुभएको थियो । पाण्डेले राजीनामा दिंदा समेत डा. तिवारीलाई निमित्त दिनु भएको थियो । भरतपुर अस्पतालमा प्रशासनिक अनुभव कम भएका मेसु आउँदा काम गर्न अप्ठ्यारो हुने र छोटो समयमा नै मेसु परिवर्तन हुने समस्या रहँदै आएको छ । प्रशासनिक अनुभव संलाग्नु भएका तिवारीको आगमनसँगै भरतपुर अस्पताललाई व्यवस्थि गर्न सहज हुने अपेक्षा गरिएको छ ।