
चितवन। चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा आमन्त्रित कार्यक्रममा गुटको राजनीति गरेको भन्दै होहल्ला र नाराबाजी भएको छ ।
नेकपा राप्ती नगरकमिटीले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला र नाराबाजी भएको हो । राप्ती नगरकमिटीका नगर इन्चार्ज मानबहादुर स्याङ्बोले भने, ‘ सुरेन्द्र पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउनासाथ होहल्ला भयो । कार्यक्रम सञ्चालन गर्न सकिएन र स्थगित गर्नुपर्ने बाध्यता पर्यो ।’
त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल निर्वाचन कमिटीका सदस्य केदार आचार्यले प्रधानमन्त्रीका विरुद्ध निरन्तर बोल्न थालेपछि होहल्ला गरेर बोल्न नदिएको बताए । उनले भने, ‘ मदन भण्डारी फाउण्डेसनलाई गुटबन्दी गरेको आरोप लगाउँदै विरोध गर्न थालेपछि ४५ जना युवाहरुले उनलाई बोल्न नदिएको हो । हामीले बोल्न नदिएपछि प्रहरीले सुरक्षा दिएर लग्यो ।’ उनले पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिडेमा चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न नदिने चेतावनी पनि दिए ।