×

काठमाण्डौ ।सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक अन्योलमा परेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठक सार्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि बैठक राख्ने पक्षमा हुनुहुन्छ ।

पार्टी महासचिव विष्णु पौडेलले आज बोलाइएको बैठक सार्न अनुरोध गर्नु भए पनि प्रचण्डले अस्वीकार गर्नुभएको छ । प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरुले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् । तर प्रचण्ड र उहाँ पक्षका नेताहरुले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका छन् ।

गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो । तर प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै ओली रुष्ट हुनुहुन्छ ।

प्रचण्डको प्रतिवेदनमा ओली सरकारले बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएर अनियमितता गरेको, न्यायपालिकाका प्रमुखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास गरेको, विमति राख्ने नेतालाई प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको, भ्रष्टाचारका अनेक प्रकरण भए पनि अख्तियार प्राप्त निकायबाट छानबिनसमेत नगराइ प्रधानमन्त्रीबाटै निर्दोष घोषणा भएको, एमसीसीबारे प्रतिवेदनमा छलफल नगरि बजेटमा समावेश गरिएको, समकक्षी नेतालाई कहिले प्रलोभन, कहिले धम्की दिने गरेको र चरम व्यक्तिवादी प्रवृत्ति हावी भएको आरोप छ ।

दुई अध्यक्षबीच लिखितरुपमै आरोप(प्रत्यारोप र सवाल(जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ ।

तपाईको प्रतिक्रिया