Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाण्डौ – आज ९मङ्गलबार० देखि खुला ठाउँमा खाना खुवाउन बन्द हुने भएको छ । काठमाण्डौको खुलामञ्च तथा सार्वजनिक ठाउँमा निःशुल्क भोजन सेवा सञ्चालन नगरिने भएको हो ।

स्वास्थ्य चुनौती र कोरोना सङ्क्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो । काठमाण्डौ महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच बन्द संरचनाभित्र व्यवस्थित रूपमा सेवा सञ्चालन गर्ने यसअघि सहमति भएको थियो ।

सहमतिअनुसार अबदेखि भोजन खुवाउन वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने र खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क भोजन खुवाइने छैन । असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिकका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाण्डौ महानगरपालिकाले अनुरोध गरेको छ ।

मानव सेवा आश्रम काठमाण्डौ महानगरपालिकाको सहकार्यमा सञ्चालित छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले निःशुल्क भोजन गराउनु पर्नेलाई सेवा दिन तयार रहेको बताउनुभयो । उहाँका अनुसार देशका २२ शाखामार्फत झण्डै एक हजार दुई सय जनाले निःशुल्क भोजनको सेवा पाइरहेका छन् ।

काठमाण्डौ महानगरपालिकाले पनि सबै सामाजिक सङ्घ संस्थालाई बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ । त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग हुने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।

महानगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका तर श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने भएको छ । काम गर्न सक्नेलाई रोजगारी दिने तथा शारीरिक र मानसिक रूपमा अशक्तलाई परिवारमा बुझाउने वा त्यो सम्भव नभए लालनपालन, औषधोपचारसहित संरक्षण गर्ने पनि मेयर शाक्यले बताउनुभयो ।

खुलामञ्चमा गएको चैत १४ गतेदेखि निःशुल्क खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालका संयोजक विमल पन्तले महानगरपालिकासँग समन्वय गरी निःशुल्क भोजन व्यवस्थित रूपमा खुवाउने बताउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया