
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्ने हल्लाको पछाडी नलाग्न अपिल गर्नुभएको छ । उहाले सञ्चारमाध्यममा आएजस्तो नेकपा फुट्ने संकेत नभएको स्पष्ट पार्नुभएको हो ।
ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न पुग्नु भएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कर्णाली प्रदेश र पछिल्ला समय भएका बैठकका विषयमा शनिवार कुराकानी भएको स्पष्ट पार्नुभयो । उहाले भेटमा प्रचण्डलाई पछिल्ला दिनमा केही मिटिङ चलिरहेकाले त्यो के का लागि र किन भन्ने प्रश्न आफुले गरेको बताउनु भयो ।
‘मैले सोधेको थिए, उहाहरुको एक खाले मिटिङ चलिरहेकाले यी के गर्न खोजेको हो, के भईराख्या छ भनेर सोधेको थिए उहालाई’, शनिवारको भेटका विषयमा जानकारी दिदै उहाले भन्नुभयो, ‘छलफल त भएको हो त्यस्तो केही होइन भनेर उहा प्रचण्डले भन्नु भयो । कर्णाली प्रदेश र अलिकति जमघटको बारेमा कुराकानी भएको थियो । पार्टीलाई ठिक ठंगले अगाडी बढाउनुपर्छ भन्ने कुरा भएको थियो ।’
प्रचण्डले ओलीले पार्टी फुटाउन प्रस्ताव गरेको हल्ला फैलाईरहँदा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश र प्रचण्ड पक्षबीच पछिल्लो समय भईरहेको बैठकका विषयमा मात्र कुराकानी भएको स्पष्ट पार्नुभयो ।