×

नारायण शर्मा

नवलपरासी — कावासोतीमा कोरोना संक्रमणबाट ९ दिनको फरकमा आमाछोरीको मृत्यु भएको छ । मृत्युपछि आएको पीसीआर रिपोर्टमा दुवै जनालाई कोरोना संक्रमण देखिएको हो ।कावासोती नगरपालिका–११ का वडाध्यक्ष शारदा अधिकारीका अनुसार पिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भएको थियो । चार दिनपछि आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको हो ।

असोज २६ गते घरमै निधन भएकी उनकी आमाको पनि पछि रिपोर्ट आउँदा कोरोना देखिएको थियो । आमालाई बिरामी परेको खबर आएपछि ती महिला उनको स्याहारसुसार गर्न खटिएकी थिइन् । त्यही क्रममा उनलाई संक्रमण भएको हुन सक्ने आफन्तको भनाइ छ ।

आइतबार ती महिलाका दाजु, भतिजा र छोरीको रिपोर्ट पनि पोजिटिभ आएको छ । वडाध्यक्ष अधिकारीका अनुसार आमाको मृत्युपछि कन्ट्याक्ट ट्रेसिङमा परेकी छोरीको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट एकै परिवारमा २ जनाको ज्यान गएको यो पहिलो घटना हो । आइतबारसम्म पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट १५ जनाको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया