
काठमाडौं । शुक्रबार मध्यरातिबाट क्लिन फिड लागू भएसँगै अधिकांश विदेशी च्यानलको प्रसारण बन्द भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो ।
अब विदेशी च्यानल क्लिन फिड विज्ञापनमुक्त भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने व्यवस्था छ ।
नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग भएको र च्यानल क्लिन फिडमा उपलब्ध नगराएले अधिकांश च्यानलको प्रसारण रोकिएको छ ।
भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको थियो । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।
अब विज्ञापन बजाएमा विदेशी च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।
नेपाल केबल टेलिभिजन महासंघका अनुसार अहिले ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुँदैछन् । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको छ ।