×

पोखरा । घरका अभिभावक बुवा बिरामी भएर अस्पताल भर्ना भएपछि ४ छोराहरू भेट्न गइरहन्थे । कोरोना महामारीका बेला अस्पताल भर्ना भएका बुवासँगै ४ जना छोरा र परिवारका अन्य सदस्यलाई कोरोना भाइरस संक्रमण देखियो ।

कोरोना संक्रमणकै कारण १ हप्ताको अन्तरमा बुवा र २ छोरासहित एकै परिवारका ३ जनाको मृत्यु भयो । यो दर्दनाक घटना हो, तनहुँ जिल्लाको भिमादको । कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको भिमाद–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बताए । कोरोनाकै कारण जेठा छोरा र माहिली बुहारी काठमाडौंमा भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

असोज तेस्रो हप्ता परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिरेपछि परिवार छिन्नभिन्न भएको छ । कोरोनाले असोज १८ साहिँला छोरा, असोज २४ गते माहिला छोरा र असोज २५ गते बुवाको मृत्यु भएको छ ।

भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बुवा २ हप्ताअघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आइरहने भएकाले उनलाई चितवनस्थित चितवन मेडिकल कलेज ९सीएमसी० मा भर्ना गरेर बढी भएपछि काठमाडौंको मेडिसिटी रेफर गरिएको थियो । उपचारकै क्रममा कोरोना पुष्टि भएका उनको असोज २५ गते निधन भयो ।

त्यसअघि साहिँला छोराको असोज १८ गते चितवनकै सीएमसीमा निधन भएको थियो । उनलाई घाँटी समाउने र श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा राखेर अस्पताल लैजाँदा–लैजाँदै बाटैमा ज्यान गएको अनुमान गरिएको छ । किनकि सीएमसीका चिकित्सकले उपचार गर्न नपाई एकै पटक मृत घोषणा गरेको जानकारी परिवार सदस्यलाई दिएका थिए । उनमा मधुमेह समेत थियो ।

साहिँलाको मृत्यु भएको भोलिपल्ट माहिलालाई कोरोनाकै लक्षण देखियो । उनलाई तुरून्तै काठमाडौंको बीएनबी पुर्‍याइयो । परीक्षणमा कोरोना पुष्टि भएपछि असोज २४ गते उपचारकै क्रममा उनको मृत्यु भयो । त्यसको केही दिनअघि प्नोस्टेटको शल्यक्रिया भई उनी घरमै आराम गरिरहेका थिए । त्यसको भोलिपल्ट उनका बुवाको मृत्यु भयो ।

परिवारका जेठा छोराको हाल ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । माहिली बुहारी पनि कोेरोना संक्रमित छिन् । उनलाई कोरोनाले च्यापेपछि काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको भिमाद–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले जानकारी दिए ।

साहिँली बुहारीको सोमवार पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । उनी हाल परिवारका सदस्य गुमाउँदा शोकको घडीबीच भिमादस्थित घरमै आइसोलेसनमा बसेकी छन् । उनको गाडीका चालकलाई पनि कोेरोना देखिएको छ ।

परिवारमा सबैभन्दा पहिले कोरोना देखिएका कान्छा भने असोज १७ गते निको भएका जनाइएको छ । लाेकान्तरबाट

तपाईको प्रतिक्रिया