
चितवन । चितवनका २५ सहित थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २७ जनामध्ये २५ जना चितवनका हुन् । बाँकी २ जनामध्ये एक जना नवलपरासीका ६० वर्षीय एक पुरूष, र डोटीका ४१ वर्षीय पुरूष छन् । भरतपुर अस्पतालका अनुसार भरतपुरका १२ पुरूष र ३ वर्षीया बालिकासहित ५ महिलामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले दिएको जानकारी अनुसार खैरहनीका २ पुरूष र २ महिला, राप्तीका १ पुरूष र रत्ननगरका २ पुरूष र १ महिलामा संक्रमण भएको हो ।
यसैबिच रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा थप एक संक्रमितको मृत्यु भएको छ । असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गएर राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए । सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको गुरुङले जानकारी दिए । हालसम्म उक्त अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको छ ।