
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आइतबार विहान एक जना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ ।
कावासोती १३ बुढौली कुनाबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेललाई दुई जना लुटेराले गहना लेटेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नविन थापाले घटनाको पुष्टि गर्दै लुटेराको जंगलदेखि सडक सबैतर्फ खोजी भएको बताए ।
पीडित महिलाका श्रीमान दण्दपानी पौडेलले लुटेराले कान काटेर कानका ठूला ठूला दुई वटा रिङ्ग लुटेर लगेको र साना साना रिङ्ग भने जोगिएको बताए ।
महिला लुटेरासँग लडेर घरतर्फ भागेर ज्यान जोगाउन सफल भएकी थिइन् । उनको दुई वटा कान काटिएको छ भने टाउको समेत चोट लागेको छ ।
पीडित महिलाको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भइरहेको छ ।