भरतपुर । लगातारको वर्षाले भरतपुर अस्पतालका आकस्मिक सहितका कक्षहरु डुवानमा परेका छन् । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवन र वरपरका भाग डुवानमा परेको हो । अस्पतालको बेडमा बिरामी भए पनि भुईमा पानी बगिरहेको छ ।अस्पतालको आकस्मिक कक्ष, अब्जरबेसन कक्ष, स्टोर, स्पाईनर ईन्जुरी कक्ष लगायतमा पानी पसेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका जानकारी दिनुभयो ।
अस्पताल वरिपरि समेत पानी जलमग्न भएकाले बिरामी समेत आवतजावत गर्न समस्या रहेको छ । पानीको उचित निकास नहुँदा अस्पताल वरपर वर्षेनी डुवानको समस्या हुने भए पनि अस्पताल भित्रै पस्ने समस्या भने थिएन । केही वर्ष अघि स्टोर कक्षमा पानी पसेको भए अन्यत्र पानी पसेको थियो पहिलो पटक हो ।
सबैतिर पानी भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भईरहेको अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले बताउनुभयो । अस्पतालमा धेरै कोभिडका बिरामी हुने भएकाले अन्य बिरामीका लागि सीमित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले जेनेरेटर लगाए पनि बाहिर फाल्ने ठाउँ छैन । पानी पार्न रोकिए पछि मात्रै निकासको विकल्प खोज्न सकिने उहाँको भनाई थियो ।
भतरतपुर महानगरपालिका वडा नं। १०, ११, १२ र ७ का धेरै क्षेत्र वर्षा शुरु भएदेखि नै जलमग्न भएका छन् । यहाँका सरकारी कार्यालयहरु पनि डुवानमा परिरहेका छन् । महानगरमा ढलको उचित व्यवस्था नहुँदा समस्या हुँदै आएको छ । नारायणी लिफ्ट सिंचाई आयोजनाका नहर पुरिँदा समेत समस्या भएको छ । वर्षाको समयमा बढी भएको पानी नहरबाट जार्ने गर्दथ्यो । अहिले नहर पुरेर सडक बनाउँदा पानीले निकास पाउन सकेको छैन । कतिपय ठाउँमा अव्यवस्थित रुपमा प्लटिङ गरिंदा डुवानको समस्या झन् बढेको छ ।