
चितवन ।भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा आरटी पीसीआर किट अभावमा कोरोना परीक्षणको काम प्रभावित भएको छ ।भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. युवानिधी बसौलाका अनुसार किट नहुँदा दुई दिनदेखि ल्याबको काम प्रभावित भएको हो ।
उँहाले मन्त्रालयसँग किट माग गरिएको भए पनि माथि नै अभाव भएको भनिएकाले आउन नसकेको बताउनु भयो ।
अस्पतालले आकस्मिक रुपमा परीक्षण गर्नुपर्ने किट खरिदका लागि कोटेसन आह्वान गरेको डा. बसौलाले बताउनु भयो । पाँच लाखभित्र सीधा खरिद गर्न पाउने नियम अनुसार किटका लागि कोटेसन माग गरिएको अस्पतालका स्टोर प्रमुख केशव सापकोटाले जानकारी दिनुभयो ।
‘आज–भोलिमा नै किट खरिद गरेर आकस्मिक व्यवस्थापनमा अस्पताल जुटेको छ,’ सापकोटाले भन्नुभयो ।
प्रयोगशालामा आएनए एक्ट्याक्सन कीट भने रहेको डा. बसौलाले बताउनु भयो । यसअघि पनि दुई दिन कीट अभावमा भरतपुर प्रयोगशालाको काम प्रभावित बनेको थियो । प्रयोगशालामा दैनिक औसत तीन सय नमूना परीक्षण हुँदै आएको छ ।
चितवन मेडिकल कलेजमा कोरोना परीक्षण रोकियो
चितवन मेडिकल कलेज (सीएमसी) ले सञ्चालन गरेको कोरोना परीक्षण प्रयोगशालामा प्राविधिक समस्या आएको छ । कलेजका प्रयोगशाला प्रमुख सञ्जय यादवले दिएको जानकारी अनुसार प्रयोगशालामा आएको प्राविधिक समस्याले तीन दिनदेखि कोरोनाको नमूना परीक्षण रोकिएको छ ।
उहाँले आवश्यक मर्मत लगायतका काम भैरहेको जानकारी दिए । मंगलवारबाट प्रयोगशालालाई नियमित रुपमा सञ्चालन गरिने उँहाले बताउनु भयो ।