नवलपुर । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु भएको छ। यही असोज २४ गते हुने निर्वाचनका लागि देशभर १ सय ७ निर्वाचन कार्यालय स्थापना भएका छन्।
मतदाता नामावली संकलन अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले जानकारी दिए। महालेखा र महान्यायाधिवक्ताको कार्यालयका मतदाता नामावली प्राप्त भइसकेको उनले बताए। निजामती कर्मचारी ऐन २०४९ र नियमावली २०५० अनुसार निर्वाचनको तयारी भएको हो।
तीन वटा संगठन निर्वाचनको प्रचारप्रसारमा लागेका छन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नेपाल निजामती कर्मचारी युनियन (संघ) चुनावको तयारीमा जुटेका हुन्। तर, नेपाल मधेसी निजामती कर्मचारी मञ्चलगायत भने विरोधमा उत्रिएका छन्। थ्रेड होल्डका कारण सहभागी हुन नपाउने भएपछि मधेसी कर्मचारी मञ्च विरोध जनाएको हो।