×

काठमान्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताउनुभएको छ ।

संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाउनुभयो । “राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले यो बीचमा केही ऐतिहासक काम भएका छन् । सीमानाका समस्या समाधान गर्ने तथा हाम्रो भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने सङ्कल्प नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले संकल्प गरेको स्थिति छ”, अध्यक्ष दाहालले भन्नुभएको छ, “भोलिका निम्ति सुखद् संकेत यसभित्र छ ।”

उहाँले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्धत गर्ने उहाँको विश्वास छ । “देशलाई आर्थिक समृद्धि र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य बनाउनका निम्ति नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीविलगायत संकल्प गर्ने दिनका रुपमा रहने छ”, उहाँले भन्नुभयो, “आउनुहोस् हामी सबै एक हौँ । सबै एक भएर राष्ट्रको एकता र समृद्धिको आकांक्षा पूर्ति गर्नका निम्ति अगाडि बर्ढौँ ।”

संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित होस्, या स्थानीय तह, प्रादेशिक तह वा सङ्घीय संरचनासँग समबन्धित अनगिन्त ऐन कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्टिय सम्बन्धलाई सहज बनाउने, खासगरी छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया