×

 काठमाडौं । भारतले प्याज निर्यात बन्द गरेपछि बजार भाउमा नेपाली व्यापारीको मनोमानी सुरु भएको छ । कालीमाटी तरकारी बजारमा करिब २४ घण्टाको फरकमै प्याजको भाउमा शतप्रतिशतभन्दा बढीले मूल्य बढाइएको उपभोक्ताले गुनासो गरेका छन् ।

मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा प्याज बिक्री भएकोमा बुधबार बिहान १३० रुपैयाँ पु¥याइएको छ ।प्याजको मूल्यमा व्यापारीको मनोमानी सुरु भएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले पनि स्वीकार गरेको छ । केही व्यापारीले बढी मूल्यमा प्याज बिक्री गर्न थालेको गुनासो आएपछि बजार अनुमगन थालिएको बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

सोमबार बजारमा ३५ टन प्याज आए पनि मंगलबार प्याज नभित्रिएको उनले बताए । बिगतको प्याजको आयात हेर्दा नेपाली बजार प्याजका लागि भारतमै निर्भर देखिएको उपनिर्देशक श्रेष्ठको भनाइ छ । दुई महिनामा ३४ सय टन प्याज बजार भित्रिदा जम्मा तीन टन मात्रै नेपाली प्याज आएको उनको भनाइ थियो ।

बजारमा प्याज पाइनै छोड्यो : व्यापारी

भारतले प्याज निर्यात रोकेपछि नेपाली बजारमा प्याज पाइन छोडेको कालीमाटीका व्यापारीहरुको तर्क छ । भारतबाट आउन छोडेपछि बजारमा प्याजको अभाव भएको कालीमाटीका आलु–प्याज व्यापारी दधिराम उप्रेतीको दाबी छ । ‘हिजोबाट प्याज आउन छोड्यो, बजारमा प्याज पाइएको छैन,’ उप्रेतीले भने । मागको तुलनामा बजारमा अभाव भएपछि केही व्यापारीले महँगोमा प्याज बिक्री गरेको हुन सक्ने उनको भनाइ छ ।

 

 

तपाईको प्रतिक्रिया