नवलपुर । नवलपुरका निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् । प्रिन्सिपल कुँवरले कुटपिट गर्नेक्रममा लडेर उच्च रक्तचाप र मधुमेहका विरामी आचार्यको खुट्टाको फ्युमर (साप्रा) फ्याक्चर भएको छ । आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुँवरले कुटपिट गरेका हुन् ।
उपचार खर्च अभावमा अस्पतालमै
घरको आर्थिक अवस्था कमजोर रहेका आचार्यको खुट्टाको अप्रेशन र औषधिमा दुई लाख २० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । तर उक्त खर्च तिर्न नसक्दा अस्पतालले भदौ १९ गते नै डिस्चार्ज दिएपनि आचार्य बुटवलको लुम्बिनी सिटी अस्पतालमै अलपत्र छन् ।भरतका अनुसार प्रिन्सिपल कुँवरले आठ वर्षसम्म बिर्सिएको पुरानो बक्यौता शुल्क लकडाउनका बेला तिर्न दबाब दिइरहेका थिए । कृष्णप्रसादका दुई छोरा रामप्रसाद र लक्ष्मणले २०६९ सालमा एसएलसी दिएका थिए ।
परीक्षामा दुई दाजुभाइ अनुत्तीर्ण भएकाले विद्यालयले शुल्क नमागेको होला भनेर बसेको अवस्थामा चार महिनाअघि मात्र एक्कासी शुल्क तिर्न दबाब दिएको भरतको दाबी छ । प्रिन्सिपल कुँवरले ५५ हजार बक्यौता छ भनेका तर बुबाले ३५ हजार तिर्न बाँकी रहेको र लकडाउन खुलेपछि १० हजार दिने भनेपनि नमानेर कुटपिट गरेको उनले बताए ।
प्रिन्सिपल फरार
दिउँसो ४ बजे कुटपिट गरेका कृष्णलाई राति ८ बजे बुटवलमा उपचारका लागि ल्याइएको थियो । घटनालगत्तै पीडित परिवारले स्थानीय तहमा उजुरी दिँदा राजनीतिक दबाबमा नलिइएको र भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा उजुरी दर्ता भएको छोरा भरतले बताए । प्रिन्सिपल कुँवर कांग्रेसका पुराना स्थानीय कार्यकर्ता हुन् । भदौ ९ गते जिल्ला प्रहहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता भएपनि प्रहरीले कुँवरलाई अझैसम्म पक्राउ गर्न सकेको छैन । राजनीतिक शक्तिको आडमा प्रहरी प्रशासन पनि प्रभावित भएर प्रिन्सिपललाई पक्राउ नगरिएको पीडित परिवारको आरोप छ । अनलाईन खबरबाट