चितवन । चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले आवश्यक उपचारको अभावमा सर्वसाधारणको ज्यान गएको, कोभीड-१९ का बिरामी र अन्य बिरामीले स्वास्थउपचारमा असहजता र हैरानी बेहोर्नु परेको जनगुनासो बढेकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिको शुक्रबार बसेको बैठकले चितवन जिल्लामा पछिल्लो पटक कोभीड-१९ बाट संक्रमित र मृत्युहुनेको संख्यामा तिव्र बृद्धि भएकोमा गहिरो चिन्ता ब्यक्त गर्दै यसको रोकथाम र नियन्त्रणमा प्रभावकारी पहलकदमी लिन स्थानीय सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको अध्यक्ष कमल पाठकले जानकारी दिनुभयो । ” स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउन पर्ने अवस्था बिडम्बनापुर्ण हो, हरेक ब्यक्तिले स्वास्थ्य उपचार पाउनु संबैधानिक अधिकारको बिषय हो ” पाठकले भन्नुभयो ।
स्वास्थ्य उपचार उपलब्ध गराउने मानवअधिकारको न्यूनतम मूल्य मान्यतामा च्युत नहुन स्थानीय सरकार, स्थानीय प्रशासन र सेवा प्रदायक स्वास्थ्यसंस्थाहरुलाई गम्भीर बन्न पनि समितिले आग्रह गरेको छ । त्यसैगरी ,जिल्लामा लकडाउन तथा निषेधाज्ञा बढ्दै जादा बिशेषत: न्यून आय भएका, श्रमजीवी वर्गमा पर्न गएको असहजता प्रति संवेदनशील बन्दै लक्षित बर्गलाई आवश्यक राहत र खाध्य उपलब्ध गराउन स्थानीय सरकारहरु एवम् राज्यका स्थानीय निकायहरुको गम्भीर ध्यानाकर्षण गराउदछौ -बैठकपछि अध्यक्ष पाठकद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।