गैँडाकोट । लामो समयदेखि रोकिएको नारायणगढ –बुटवल सडकखण्ड विस्तारको काम अझै सूचारु हुन सकेको छैन । सडक सुचारु नहुँदा यात्रुहरुले हैरानी खेप्नुुपरेको छ । कछुुवाको गतिमा भैरहेको सडक विस्तारको काममा अहिले पूर्णविराम नै लागेको छ । कोरोना भाइरस संक्रमणका कारण चैत ११ गतेदेखि लकडाउन गरिएपछि भर्खरै शुरु भएको सडक विस्तारको काम रोकिएको थियो ।
नारायणगढ –बुटवल सडक खण्डमा चार लेन सडक निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ वर्षअघि बुटवलबाट सडक विस्तारको शिलान्यास गर्नुभएको थियो । सडक विस्तारको जिम्मा चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससिइसी)ले पाएको छ ।
सो कम्पनीले बुटवलदेखि दाउन्ने र दाउन्नेदेखि नारायणगढ गरी दुई खण्डमा निर्माण कार्य शुरु गरेको थियो । पश्चिममा गैंडाकोट क्षेत्र र पूर्वमा बुटवल क्षेत्रमा काम शुरु भए पनि बन मन्त्रालयबाट रुख कटानीबारे समयमै निर्णय नगर्दा परियोजनाको कामले गति लिन सकेन उता, सडक छेउमा गाडिएका बिजुलीको पोल र तार हटाउने काम पनि अझै शुरु भएको छैन ।
नरायणगढ बुटवल १ सय १३ किलोमिटर सडकलाई तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी चार लेनमा स्तरोन्नति गर्न सन् २०१९ को फेब्रवरीमा सिएससिइसीसँग ठेक्का सम्झौता भएपछि कछुुवाको गतिमा भैरहेको कामले समयमै योजना सम्पन्न हुन नसक्ने निश्चित छ ।