चितवन । कोरोना भाईरस नियन्त्रणको लागी सरकारले लकडाउन गरेपछि चितवन सहित देशका अधिकांस जिल्लामा यातायातका साधनहरु चलेका छैनन ।अत्यावश्यक बाहेकका सवारीसाधनहरु निषेधाज्ञाका बेला चलाउन नपाउने सरकारले बताएको छ । समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुले प्रयोग गर्ने सवारीसाधन संचालनका लागि छुट दिइएको भएपनि पछिल्लो समय चितवनका सडकमा प्रेस टाँसेर र पत्रकारको परिचयपत्र बोकेर सडकमा निस्कनेको संख्या बढ्दै गएको छ ।
सुरक्षाकर्मीले सवारीासाधन रोकेर सोधपुछ गर्दा पत्रकारको परिचयपत्र देखाएपछि सजिलै उम्कन पाईने भएपछि जिल्लाका गैर पत्रकारहरुले समेत पत्रकारको कार्डको दुुरुपयोग गरेको गुनासो बढेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले कोरोना संक्रमणबाट जोगिनका लागि जिल्लाका पत्रकारहरुलाई अत्यावश्यक काम विना फिल्डमा नजान आग्रह गरेको छ । कामै परेर निस्कन परे पत्रकारको पहिचान झल्काउने ज्याकेट लगाउन र आफ्नो परिचयपत्र अनिबार्य देखिनेगरी लगाएर हिड्न महासंघले अनुरोध गरेको जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले बताउनु भयो । चितवन र यस आसपासमा कहिल्लै पनि पत्रकारिता नगर्नेहरुले नै आफ्नो सवारीसाधनमा प्रेस टाँसेर हिडेको देखिएको बताउँदै अध्यक्ष खतिवडाले सो कार्य गलत भएको बताउनु भयो ।
अध्यक्ष खतिवडाले नक्कली पत्रकार बनेर पत्रकारिता जस्तो मर्यादित पेशालाई बदनाम गराउन नपाईने भन्दै महासंघले मसिनो गरि अध्ययन गरिरहेको जानकारी दिनुुभयो । अध्यक्ष खतिवडाले भन्नुुभयो “पत्रकार बाहेक प्रेसको कार्ड बोकर हिड्ने छुट कसैलाई छैन महासंघले केहिदिन भित्रमै रिजल्ट आउने गरि अनुगमन गरिरहेको छ ।” मिडिया हाउसलाई जथाभावी प्रेस कार्ड नवाड्न अनुरोध गरेको भन्दै अध्यक्ष खतिवडाले हरेक मिडिया हाउस ईमान्दार बने यो समस्या नआउने बताउनुभयो । कसैलाई खुसी बनाउन कसैलाई नजिक बनाउन पत्रकारको कार्ड बनाईदिएकै कारण समस्या उत्पन्न भएको अध्यक्ष खतिवडाको बुुझाई छ । दुुईपांग्रे भन्दा चार पांग्रे साना सवारीमा प्रेश टाँसेर हिड्नेको संख्या बाक्लो देखिएको छ । प्रेस लेखिएको स्टिकर टाँसेर गुडेका नक्कली पत्रकारका सवारीलाई सुरक्षाकर्मी पनि सम्मानका साथ छोड्न वाध्य छन ।