×

८ भदौ , वीरगञ्ज । वीरगञ्जका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत एमबीबीएस डाक्टरले काममा नजाने निर्णय गरेका छन् ।

५ बुँदे माग पूरा नभएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनीसहित काममा नजाने निर्णय गरेका हुन् ।

यसअघि उनीहरु आवद्ध निजी अस्पताल, चिकित्सक संघ, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायमा विभिन्न ५ बुँदे मागसहित ७ दिने अल्टिमेटम दिएका थिए । ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराए पनि कतैबाट मागको सुनुवाइ नभएकोले मंगलबारबाट काममा नजाने निर्णय गरेको मेडिकल अफिसर एसोसिएसन अफ वीरगञ्जका सदस्य डा. अनुप उपाध्यायले बताए ।

‘५ बुँदे मागसहित ७ दिने अल्टिमेटम दिएका थियौं । कतैबाट सुनुवाइ भएन’ उनले भने ‘एउटा पीपीई दिन्छन् । त्यसैलाई धोएर प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यसैले काममा नजाने निर्णय गरेका छौं ।’

उनीहरुले यसअघि न्युनतम तलब ६५ हजार कायम गर्नुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बिमा गरिदिनुपर्ने, काम गरिसकेपछि क्वारेन्टिन बस्नका लागि अस्पतालले नै व्यवस्था गरिदिनुपर्ने, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउनुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।

तपाईको प्रतिक्रिया