बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कोरोना परीक्षणको लागी ल्याव सञ्चालन गरिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अवकाे एकमहिना भित्रमै कोरोना परीक्षण ल्याव अस्पतालमा सुरु हुनेछ ।
कोरोना परिक्षण ल्याव सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढेको उनले बताए । ‘हामीसँग पहिल्यै पीसीआर मेसिन छ, आवश्यक केही सामाग्री र भौतिक पूर्वाधारको तयारी भैरहेको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले भने, ‘करिब २०–२२ लाखको सामान टेण्डरमार्फत मागेका छौं, छिट्टै समान आउँछ भन्ने विश्वास छ ।’क्यान्सर अस्पतालले अहिले भरतपुर अस्पताल मातहत सञ्चालित भरतपुर कोभिड ल्यावमा अप्रेशन गर्नुपर्ने बिरामी तथा चिकित्सक स्वास्थ्यकर्मीहरुको नमूना परीक्षण गराउँदै आएको छ ।