×

सुर्खेत । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए ।

एमाले प्रदेश कमिटीले शनिबार नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।मुख्यमन्त्री शाहीले भने एमालेबाट निस्कासित तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव विक्रम बुढाथोकीका अनुसार नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी भइरहेको छ । उनले अघि भने, ‘सकेसम्म सँगै सपथ हुनेछ ।’

तपाईको प्रतिक्रिया