×

गैंडाकोट-   चौथो मेयर कप गैंडाकोट वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि गैंडाकोट–१४ ले जित्न सफल भएको छ।गैंडाकोट–३ स्थित ढोडेनी खेल मैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा गैंडाकोट–१४ ले गैंडाकोट–१८ लाई पराजित गर्दै च्याम्पियन बनेको हो। उपाधि चुमेसँगै विजेता गैंडाकोट–१४ ले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार हात पारेको छ।

प्रतियोगिताको समापन समारोहमा गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला, नगर प्रवक्ता तथा गैंडाकोट–३ का वडा अध्यक्ष शिवकान्त तिवारी, गैंडाकोट–१४ का वडा अध्यक्ष कोकीसरा राना मगर, नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटा तथा उपाध्यक्ष लक्ष्मण कार्की लगायत स्थानीय जनप्रतिनिधि, खेल पदाधिकारी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

खेल आयोजना भएको गैंडाकोट–३ मा खेलकुदको विकासका लागि वडा अध्यक्ष शिवकान्त तिवारीले उल्लेखनीय पहल गर्दै आउनुभएको छ। उहाँकै सक्रियतामा खेल मैदानको स्तरोन्नति भएसँगै यहाँ प्रतियोगिता र प्रशिक्षणका लागि उपयुक्त वातावरण बनेको छ। विभिन्न खेल गतिविधिमा साथ र प्रोत्साहन दिँदै उहाँले खेलाडी तथा खेलप्रेमीलाई निरन्तर हौसला प्रदान गर्दै आउनुभएको छ।

वडा स्तरमा भलिबलको क्रेज बढाउने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिमा थप ऊर्जा थपेको आयोजक तथा सहभागीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया