×

नवलपुर- नवलपुरको गैँडाकोटमा घरभित्रै जुवा खेलिरहेका आठ जनालाई प्रहरीले नगद सहित नियन्त्रणमा लिएको छ।

गैँडाकोट नगरपालिका–७ हरिहर टोलस्थित शंकर जिसीको घरमा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी टोलीले शुक्रबार साँझ उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट ३ बुक ताससहित जुवा खेल्न प्रयोग भएका विभिन्न सामग्री र कुल ४१ हजार ५७० रुपैयाँ नगद बरामद गरेको छ। एउटै घरमा फरक-फरक समूह बनाई जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट घरधनी शंकर जिसी, गिरबहादुर परियार, नेत्रबहादुर दरै, भीमप्रसाद शर्मा, शक्तिबहादुर सापकोटा, आत्माराम पौडेल, श्रीकृष्ण अधिकारी र कृष्णप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट जुवातासको खालबाट बरामद भएको विभिन्न नगद रकमसहित कुल ४१ हजार ५७० रुपैयाँ जफत गरिएको छ।

नियन्त्रणमा लिइएका आठै जनाविरुद्ध प्रचलित कानुन बमोजिम जुवा ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया