भरतपुर- चितवनको सभ्यता, आस्था र गौरवसँग जोडिएको नारायणी नदी किनार यतिबेला केही समूहको स्वार्थपूर्ति गर्ने र ‘कमाई खाने भाँडो’ बन्न पुगेको छ । गत असोज ११ र १२ गतेको विनाशकारी बाढीले क्षतविक्षत बनाएको नदी किनारलाई दीर्घकालीन गुरुयोजनासहित संरक्षण गर्नुको साटो, आगामी मंसिर २ गतेदेखि आयोजना गर्न लागिएको ‘नारायणी महोत्सव’ का नाममा नदीको प्राकृतिक स्वरुप नै बिगार्ने गरी दोहन सुरु गरिएको छ ।
करिब १५ करोड रुपैयाँको लागतमा नदीको बीचमा निर्माण गरिएको ‘सिबिच मोडल’ को तटबन्धका कारण गत असोजको बाढीले नदी किनारको मैदानमा झनै ठूलो क्षति पुर्याएको थियो । बाढीले खाल्डो र बगरमा परिणत गरेको संवेदनशील क्षेत्रलाई नचलाउन विज्ञ तथा स्थानीयले सुझाव दिइरहँदा आयोजक संस्था ‘रेड रक नेपाल’ ले तटबन्धलाई नै जोखिममा पार्ने गरी नदीजन्य पदार्थ उत्खनन गरेको छ । सिबिच तटबन्धभन्दा करिब पाँच फिट तल रहेको उक्त क्षेत्रका ढुंगा र गिट्टी हटाएर बालुवाले मात्र पुरिएको छ, जसले आगामी बर्खामा बाढीको जोखिमलाई कैयौँ गुणा बढाएको छ ।
‘नारायणी कसैको डम्पयार्ड होइन’ नदी दोहनको विरोधमा संरक्षणकर्मी तथा स्थानीय युवाहरू आन्दोलित बनेका छन् । नारायणी संरक्षणका लागि लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता तथा भरतपुरको मेयरका आकांक्षी सागर कार्कीले महोत्सवका नाममा भइरहेको दोहनप्रति कडा आपत्ति जनाएका छन् ।
“नारायणी नदी कसैको पाइखाना वा डम्पयार्ड होइन,” आक्रोश व्यक्त गर्दै कार्कीले भने, “यो हाम्रो आस्था, विश्वास र मानव सभ्यताको प्रतीक हो । सहरमा अन्य विकल्पहरू हुँदाहुँदै महोत्सवको आवरणमा नदीमाथि गरिने कुनै पनि दोहन किमार्थ स्वीकार्य हुनेछैन ।”
नदी किनारमा डोजर चल्दा र नदीजन्य पदार्थ उत्खनन हुँदासमेत भरतपुर महानगरपालिका र स्थानीय प्रशासन रहस्यमय तरिकाले मौन बसेका छन् । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले नदीजन्य पदार्थ निकाल्न स्वीकृति नदिइएको र बाहिरबाट बालुवा ल्याएर सम्याउन मात्र अनुमति दिइएको दाबी गरेका छन् । तटबन्धको आडबाटै सामग्री निकालिएको विषयमा अनभिज्ञता प्रकट गर्दै उनले ‘निरीक्षण गर्नुपर्ने’ भन्दै पन्छिने प्रयास गरेका छन् । स्थानीय स्तरमा भइरहेको यति ठूलो गतिविधिमा महानगरको अनुगमन नहुनुले यसमा निकायहरूको ‘मौन स्वीकृति’ रहेको प्रस्ट देखिन्छ ।
यता महोत्सव आयोजक संस्था रेड रक नेपालका अध्यक्ष विकल क्षेत्रीले भने बाढीले बिगारेको किनारलाई आफ्नै स्रोतसाधन र मेसिनरी परिचालन गरी सम्याएर ‘सौन्दर्यकरण’ गरिएको दाबी गरेका छन् ।
नारायणी किनारमा शक्ति र पहुँचको आडमा महोत्सव आयोजना गर्ने यो प्रवृत्ति नयाँ होइन । विगतमा भएका महोत्सवहरूको न त आयव्यय पारदर्शी ढंगले सार्वजनिक गरियो, न त त्यसबाट नदी संरक्षणमा नै कुनै टेवा पुग्यो । अझ रोचक पक्ष त के छ भने, विगतमा ‘चितवन महोत्सव’ आयोजना गर्दै आएको चितवन उद्योग वाणिज्य संघसमेत यस विषयमा मौन छ । भोलिका दिनमा आफूहरूलाई पनि सोही स्थानमा महोत्सव गर्न सहज हुने स्वार्थका कारण उद्योग वाणिज्य संघले आँखा चिम्लिएको स्थानीय व्यवसायीहरूको आरोप छ ।
प्राकृतिक विपद्को पीडा सेलाउन नपाउँदै भविष्यमा आउन सक्ने अर्को ठूलो विनाशलाई निम्तो दिने गरी भइरहेको यो दोहन तत्काल नरोकिए, यसले चितवनवासीलाई नै ठूलो मूल्य चुकाउन बाध्य पार्ने निश्चित छ ।




उज्यालो खबर

