×

नवलपुर-  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–५ कुसुमघाटस्थित नारायणी नदी किनारबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

कात्तिक २४ गते साँझ करिब साढे ५ बजेको समयमा नदी किनारमा लागुऔषध सेवन गरी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा गैंडाकोट–५ बस्ने २५ वर्षीय राजु कुमाल, २४ वर्षीय सुजल परियार, २६ वर्षीय पुजन परियार र गैंडाकोट–१ जजुवा बस्ने २४ वर्षीय शिव बि.क. रहेका छन्।

प्रहरीले शरीर खानतलासी गर्ने क्रममा राजु कुमालको साथबाट ‘अनार्गन–२५’ (Anargan-25) लेखिएको ९२ क्याप्सुल र ‘ट्रामोल–५०’ (Tramol-50) लेखिएको ९२ क्याप्सुल बरामद गरेको छ। त्यसैगरी, सोधपुछका क्रममा शिव बि.क.ले आफ्नो कोठामा गाँजा लुकाइराखेको बताएपछि प्रहरीले उनको घरको भान्सा कोठामा खानतलासी गर्दा १ किलो ५६५ ग्राम गाँजासमेत फेला पारेको छ।

बरामद लागुऔषधसहित पक्राउ परेका चारै जनाविरुद्ध नवलपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया